१५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्यो

होमल्याण्ड खबर

२०७६ भाद्र २६ गते, बिहीबार १६:२२ मा प्रकाशित

१५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ ।

नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।

नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो । कामदारको बीमा, फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै नेपालले मलेसियामा नेपाली कामदार पठाउन रोकेको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नेपालको प्रस्तावअनुसार नभएसम्म नेपाली कामदार पठाउन नसकिने अडानपछि पहिलो चरणमा मन्त्रीस्तरीय बार्ता काठमाडौंमै भएको थियो । वार्तापछि मलेसिया रोजगारी खोल्ने विषयमा दुई देशबीच सहमति भएको हो ।

‘गतबर्ष देखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भएको द्विपक्षीय सहमति अनुसार आगामी आइतबार बाट खुल्ने भएको छ’, भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।