ट्राफिक समस्या सडक संरचना र अनुशासन : आईजी खनाल

होमल्याण्ड खबर

२०७६ आश्विन ५ गते, आईतवार १४:२१ मा प्रकाशित

प्रहरी महानिरिक्षक (आईजी) सर्वेनद्र खनालले काठमाडौंमा देखिएको ट्राफिकको समस्याको मूल कारण सडकका संरचना र अनुशासनमा कमी हुनु रहेको बताएका छन् ।

युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आईजी खनालले ट्राफिक व्यवस्थापनमा पद्दती बसाल्ने काम तदारुकताका साथ भएको बताए ।

ट्राफिक प्रहरीसँग भएको सुविधाका आधारमा अहोरात्र खटेर व्यवस्थापनको काम भइरहेको बताएका उनले पद्दती र अनुशासन नहुँदा केही समस्या देखिएको बताए ।

उनले सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको बताए । नेपालका इञ्जिनियरले पनि उक्त लाइट मर्मत गर्न सक्ने बताएका आईजी खनालले भने,‘बैंकक, चीन, भारतदेखि अन्य देशको अवस्था हरौं र हामी कहाँ छौं हेरौं ।’

सोही क्रममा मलेसीयाको उदाहरण दिँदै भने,‘१० किलोमिटरको बाटोमा मलेसीयामा ४० मिनेटसम्म लाग्यो, यहाँ त त्यहि दूरीमा १० मिनेट ट्राफिक समस्या देखिन्छ ।’

यद्यपि अहिले रहेको समस्या समाधानका निम्ति रोडम्याप बनेको र सरकारसँग पेश भएको खनालको जिकीर थियो ।