बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

होमल्याण्ड खबर

२०७६ आश्विन ६ गते, सोमबार १५:४५ मा प्रकाशित

लगानी बोर्डले काठमाडौको बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने दिने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ४० औँ बैठक बैठकले ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ लाई दिने निर्णय गरेको हो ।

प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरण (सर्ट लिष्ट) मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिइएको बताइएको छ । साथै आजको बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजी’ लाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ ।

बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ ।