१० मंसिर २०८१, सोमबार
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले डाकेको बैठकमा भारत र पाकिस्तानका मन्त्रीहरुले एक अर्कालाई बहिष्कार गरेका छन् ।
कश्मीरको मुद्दालाई लिएर दुई देशबीच चुलिएको तनाव सार्क मन्त्रीस्तरीय बैठकमा पनि छताछुल्ल भयो । भारतले पाकिस्तान सदस्य रहेको सार्कलाई ‘मिनिमाइज’ गर्दै बिम्स्टेकलाई बढावा दिइरहेको अवस्थामा नेपालले बोलाएको बैठकमा पनि दुई राष्ट्रबीच शत्रुतापूर्ण सम्बन्ध देखिएको हो ।
कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच जारी तनाव सार्कको विदेश मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो । न्युयोर्कमा आयोजित विदेशमन्त्रीहरुको बैठकमा पाकिस्तानी विदेशमन्त्रीले भारतीय समकक्षीलाई बहिस्कार गरेका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले मन्तव्य राखिरहँदा पाकिस्तानका विदेशमन्त्री महमुद कुरैशी बैठक कक्षमा प्रवेश नै गरेनन् । बैठकमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले कुरैशीको प्रतिनिधित्व गरेका थिए । उनले नै भारतीय विदेशमन्त्री जयशंकरलाई कुरैशीले बैठक बहिस्कार गरेको जानकारी दिएका हुन् ।
अगष्ट ५ मा भारतले कश्मीरका लागि विशेष व्यवस्था गरिएको संविधानको ३७० खारेज गरेपछि भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भएको पहिलो भेटघाटमै तनावको माहोल देखिएको हो ।