३ चैत्र २०८२, मंगलवार
ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको आज शिलान्यास हुँदैछ ।
भैंसेपाटीमा आज बिहान पौने ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् ।


सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग-अलग भवन बनाउँदै छ ।
दुई वर्षभित्र मन्त्री निवासका साथै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवन बनाइनेछ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि बन्ने १४ वटा भवनका लागि ८५ करोड बजेट छुट्याइएको छ ।
गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।