३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि आज बुधबार म्यानमार जाँदै छिन् ।
म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल आज बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यानमारको राजधानी नेपित पुग्नेछ ।


पाँच दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्टसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नेछिन् ।
भण्डारीले म्यानमारमा रहेका नेपाली मूलका नागरिकहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले जनाएको छ ।