४ चैत्र २०८२, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापान भ्रमण सम्पन्न गरी आज बुधबार स्वदेश फर्किँदै छिन् ।
राष्ट्रपति भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छिन् ।


उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन् ।
जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
यसअघि राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।