प्रधानमन्त्रीलाई एसिडपीडित मुस्कानको चिठी : मेरो पीडा बुझिदिनु होस्

होमल्याण्ड खबर

२०७६ कार्तिक ८ गते, शुक्रबार १३:२६ मा प्रकाशित

एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् ।

एसिड आक्रमणमा परी घाइते भएकी १५ वर्षीया बालिका मुस्कानले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै दोषीलाई फाँसीको सजायको माग गरेकी छन् ।

उनले यसअघि एसिड आक्रमणका दोषीलाई कडा कानुनी व्यवस्था भएको भए आफूले अहिले एसिड आक्रमणमा परेर अस्पतालको बेडमा छट्पटाउनुपर्ने अवस्था नआउने उल्लेख गरेकी छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अहिले आफू भएको भए ‘तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थेँ’ भनेकी छन् ।

‘प्रधानमन्त्री ज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला’, मुस्कानले प्रधानन्त्री केपी शर्मा ओलीलाई लेखेको चिठ्ठीमा उल्लेख छ ।

कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसिड आक्रमण भएको थियो ।

यस्तो छ चिठ्ठी

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद