सहमतिपछि कृष्णनगर शान्त बन्दै, कर्फ्यू भने कायमै

होमल्याण्ड खबर

२०७६ कार्तिक १५ गते, शुक्रबार १३:१८ मा प्रकाशित

हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । तर पनि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन ।

बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन ‘प्रहरीले चलाएको गोली’ लागेर १ युवकको मृत्यु भएपछि कपिलवस्तु झन् तनावग्रस्त बनेको थियो ।

बिहीबार दिउँसोदेखिको प्रयासका बाबदूत राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएपछि स्थिति सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको छ । यसैगरी मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

मूर्ति विसर्जनका क्रममा सुरु भएको दुई पक्षको विवाद हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ११ बजे देखि कर्फ्यू लगाएको थियो ।