४ चैत्र २०८२, बुधबार
आफ्नो अन्तिम अनशनपछि डा. केसीले आफ्ना माग र सम्झौताहरुबारे सरकारको ध्यानाकर्षण गरिरहे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘माग पूरा हुन्छ, ढुक्क हुनुस्’ भन्दै आश्वास्त पारिरहे । तर, सरकारले घुमाईफिराई धोका दिएको अनुभव गरेका डा. केसी अनशनको विकल्प नदेखेर अहिले डडेल्धुरा पुगेका छन् ।
डा. केसी आफैं मुटुका रोगी छन् । चिकित्सकहरुले औषधि सेवनमा अनियमितता भए वा रोग प्रतिकुल हरकत बढे जुनसुकै बेला जे पनि हुनसक्ने चेतावनी पाएका उनी डडेल्धुरा पुगेर आमरण अनसनमा बसेका छन् ।


सरकारले विगतमा डा. केसीसँग पाँच विकास क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्ने सम्झौता गरेको थियो । संघीयताको कारण सात प्रदेश भएकाले सातैवटा मेडिकल कलेज हुनुपर्ने मागमा पनि सरकार सहमत भएको थियो ।
पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरामा एउटा मेडिकल कलेज होस् भन्ने डा. केसीको माग छ । यो माग स्थापित गराउनकै लागि आफूले अनसन स्थलका रुपमा डडेल्धुरालाई रोजेको डा. केसी बताउँछन् । केही समयअघि डडेल्धुरा पुग्दा जिल्ला अस्पतालको हालत स्वास्थ्य चौकीको जस्तो पाएको र उपक्षेत्रीय अस्पतालमा समेत डाक्टर नभेटिएको उनी बताउँछन् ।