बंगलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै

होमल्याण्ड खबर

२०७६ कार्तिक २८ गते, बिहीबार १०:३० मा प्रकाशित

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज दिउँसो पर्यटकीय नगरी पोखरा जाँदैछन् ।

राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा जाने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

पोखराको दृश्यावलोकन गर्न जान लागेका उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नेछन् ।

पोखराबाट फर्किएपछि शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।