सार्वजनिक शौचालय निर्माण गर्दै महानगर

होमल्याण्ड खबर

२०७६ मंसिर ३ गते, मंगलवार १४:२१ मा प्रकाशित

संघीय संसद सदस्य जीवनराम श्रेष्ठले सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र प्रविधियुक्त सुविधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तिब्रता दिन उनले आग्रह गरे ।
सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको प्रभातफेरीको समापन कार्यक्रममा उनले शौचालयको समस्या समाधान भए सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने बताए ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने काम महानगरले  गरिरहेको बताए ।

महानगरको सहरी योजना आयोगले, सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारेको छ । कार्यक्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले विभिन्न २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरेको बताउँदै स्थान, लगानी र आवश्यकताका आधारमा यीमध्ये जनसुकै प्रकारका शौचालय पनि निर्माण गर्न सकिने प्रस्ट पारे ।

अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ वर्ष मुनिका औसतमा दैनिक ४ जना अर्थात् वार्षिक १४ सय बालबालिकाको मृत्यु भइरहेको छ । सन् २००० मा वार्षिक १० हजार ८ सय रहेको यस प्रकारको मृत्युदर सन् २००८ मा ७ हजारमा झरेको थियो ।