अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाले दिए शुभकामना

होमल्याण्ड खबर

२०७६ मंसिर १७ गते, मंगलवार ०९:३१ मा प्रकाशित

आज डिसेम्बर ३ अर्थात् अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको २८औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उनले ‘दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने खाँचो औँल्याइन् ।

उनले समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा फरकक्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्ने बताइन् ।

यसैगरी अन्तर्राष्ट्रिय अपाङ्ग दिवसकै अवसरमा शुभकामना दिँदै कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि काँग्रेस सदैब क्रियाशील रहिरहने बताए ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइले पुर्‍याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको काँग्रेस उच्च सम्मान गर्दछ । मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको छ’, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गरेका छन् ।