उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली तथा हुस्सु

होमल्याण्ड खबर

२०७६ मंसिर ३० गते, सोमबार ०९:५८ मा प्रकाशित

केही दिनदेखि मौसम खराब बनाएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् ।

तर काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली तथा हुस्सु लागेको अवस्था छ । हाल देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

सोमबार दिनभर मौसम अधिकांश रुपमा सफा नै रहने जनाइएको छ । देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने जनाइएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट पनि पूर्व लागेको र अहिले कुनै पनि सक्रिय मौसमी प्रणाली नरहेको मौसमविदले बताए ।

काठमाडौँ उपत्यका तथा तराईका क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा हुस्सु लागेको र दिउँसो मौसम खुल्ने बताए । बिहान ६ डिग्री रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्नेछ ।