६० जिल्लामा टेलिकमको फोरजी सेवा विस्तार

होमल्याण्ड खबर

२०७६ पुष ६ गते, आईतवार १०:४० मा प्रकाशित

टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा फोरजी सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ ।

नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत वर्ष माघ २० गते नयाँ सम्झौता गर्दै फोरजी विस्तारलाई गति दिएको थियो । देशैभर फोरजी विस्तार गर्ने परियोजना अन्तर्गत अहिले तीव्ररूपमा नयाँ टावरमा यो सेवा जडान गर्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशकले जानकारी दिए ।

टेलिकमले करिब १९ अर्ब रुपैयाँ लगानीमा ६५ लाख फोरजी ग्राहक थप गर्ने लक्ष्यसहित माघदेखि नेटवर्क विस्तारको परियोजना अगाडि बढाएको थियो । उक्त परियोजना अनुसार अहिलेसम्म हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लाका मुख्य स्थानमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ ।

फोरजी परियोजना अन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान गर्ने लक्ष्य राखेको छ ।