निजामति कर्मचारीको औषधी उपचारसम्बन्धी सेवासुविधा यथावत

होमल्याण्ड खबर

२०७६ पुष ६ गते, आईतवार १२:०० मा प्रकाशित

बन्दै  गरेको नयाँ विधेयकमा निजामति कर्मचारीहरूले पाउने औषधी उपचारलगायतका सेवा सुविधा यथावत राखिएको छ ।

कर्मचारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पाउँदै आएको उक्त सुविधामा कुनै कटौती वा संशोधन नगरिएको प्रतिनिधि सभाका सदस्य नवराज सिलवालले जानकारी दिए ।

राज्य व्यवस्था समितिमा पुगेको उक्त ऐनमाथि लामो छलफल भएको थियो । कतिपय सांसदले उक्त सुविधाको व्यवस्था हटाउनुपर्ने माग गरे पनि सांसद सिलवालले त्यसो गर्दा कर्मचारी, प्रहरी र सेनामा कार्यरत राष्ट्र सेवकको काम गर्ने उत्प्रेरणामा ह्रास आउने भन्दै यथावत राख्नुपर्ने जोडदार माग गरेका थिए ।

‘कर्मचारीले पाउँदै आएको सुविधामा कुनै कटौती गरिएको छैन, गरिनु हुन्न भन्ने मेरो मत थियो’, सिलवाल दैनिक नेपालसँग भन्छन्,‘प्रहरी, सेनालगायतका सुरक्षाकर्मीको सुविधा कटौती भन्दा पनि थपिनुपर्छ भन्ने धारणा मैले राखेको छु ।’

विधेयको दफा ५० मा उक्त सुविधासम्बन्धी व्यवस्था कायम गरिएको छ ।

एकथरीले भने सांसद सिलवालले उक्त व्यवस्था हटानुपर्छ भनेको भन्ने अफवाह फैलाएका थिए । यसबारे सिलवाल भन्छन्,‘मेरो मत र अडान कर्मचारी, प्रहरी र सेनाको सुविधाका पक्षमा थियो । बजारमा आउने अनेकथरी हल्लाका पछाडि दौडन हुन्न ।’