चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन, पक्राउ परे १ सय २२ चिनियाँ

होमल्याण्ड खबर

२०७६ पुष ८ गते, मंगलवार १०:१९ मा प्रकाशित

नेपालमा हुने अपराधमा चिनियाँको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ

महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा गरेको विशेष सर्च अपरेशनका क्रममा अवैध गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बैङ्कका एटिएमहरु ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय २२ चिनियाँ नागरिक पक्राउ परेका हुन् । नेपालमा हुने गम्भीर प्रकृतिका अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको पाइएपछि नेपाल सरकार र चीन सरकारका अधिकारीबीच छलफल भएको थियो ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।