५ चैत्र २०८२, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले नेपाल भ्रमण वर्षमा भित्र्याउन थालेको बीस लाख पर्यटक ब्यवस्थापनका कारणले चुनौती रहेको बताएका छन् ।
नजिकै आएको नेपाल भ्रमण बर्ष २०२० बारे जानकारी दिन भक्तपुर नगरपालिकाले आज पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रजापतिले विगतको तथ्याँकलाई हेर्दा यो सबै क्षेत्रका लागी चुनौतीको बिषय भएता पनि यसलाई सक्दो ब्यस्थापनतर्फ सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । उनले भने, मुखमै रहेको पर्यटन बर्षलाई सफल बनाउन भक्तपुर नगरपालिकाले कला संस्कृति र सम्पदाका भरपुर जानकारी दिनुका साथै विविध विधाका गतिबिधिहरु सञ्चालन गरिने उनले बताए ।


बिगतको बर्षमा भक्तपुर आउने पर्यटकको संख्यामा साउनदेखि मंसिर महिनासम्ममा एक हजार पाँचले कमी रहेको उनले जानकारी दिए । गत बर्षको साउनदेखि मंसिर महिनामा एक लाख १४ हजार १ सय ४० पर्यटकले भक्तपुर अवलोकन गरेका थिए भने यो बर्षको साउनदेखि मंसिर महिनामा जम्मा १ लाख १३ हजार १ सय ४५ पर्यटकले भक्तपुर अवलोकन गरेको उनले जानकारी दिए ।
यस्तै भक्तपुरमा पर्यटकहरुको बसाई लम्बाउने उद्देश्यका साथ सन्ध्याकालिन सांस्कृतिक कार्यक्रमका साथै पद यात्रा समेत थालनी गरेको उनले बताए । यसरी भक्तपुर नगरका बिभिन्न पार्टी पौवाहरुमा भजन गाउने, चोक चोकमा साँस्कृतिक प्रदर्शन समेत गरिने पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।
पर्यटकहरुको आगमनलाइ मध्यनजर गर्दै नगरपालिकाले पर्यटक सूचना केन्द्रको ब्यवस्थापन, स्तरिय सौचालय निर्माण तथा महत्वपूर्ण सम्पदा स्थलहरुमा सवारी निषेध गरिएको उनले जानकारी दिए । यस्तै भ्रमण बर्षलाई लक्षित गरेको नगरपालिकाले चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव समेत गर्ने भएको छ । यसरी गरिने महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शन, कृषि उत्पादन प्रदर्शनी, हस्तकला, संस्कृति लगायतका बिधाहरु समेटिने छ ।