५ चैत्र २०८२, बिहीबार
मौसमी प्रतिकूलताका कारण मुलुकका विभिन्न गन्तव्यका लागि आन्तरिक उडान प्रभावित भएका छन्। गौतम बुद्ध विमानस्थल बिहान ९ बजेदेखि बन्द भएको छ। काठमाडौँ तथा पोखरा जानको लागि भैरहवा स्थित विमानस्थलमा पुगेका यात्रुहरु अलपत्र परेका छन् ।
मौसममा खराबी आएपछि काठमाडौँबाट भैरहवा आउन जहाज भित्र बसिसकेका यात्रुहरुलाई ओरालिएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय तर्फका उडान भने नियमित छन् । आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) अन्तर्गतका उडानमा ढिलाइ भइरहेको विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार आइएफआरअन्तर्गत प्रतिघण्टा १० वटा उडान हुँदै आएको छ भने भीएफआर (भिजुअल फ्लाइट रुल्स) अन्तर्गत प्रतिघण्टा ३० वटा उडान हुँदै आएको छ । यतिखेर विमानस्थलमा आन्तरिक गन्तव्यका जहाजको उडान-अवतरणमा ढिलाइ भइरहेको विमानस्थलले जनाएको छ । शुक्रवार काठमाडौंको आकाश धुम्मिनुका साथै बिभिन्न स्थानमा हलुका वर्षा भएको छ ।