निजगढ-भरतपुर रेलमार्गको डीपीआर २७ करोडमा बन्ने

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १४:५६ मा प्रकाशित

मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच करिब २७ करोड रुपैयाँ डीपीआर तयार पार्ने सम्झौता भएको हो ।

पन्ध्र महिनाभित्रमा डीपीआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले  डीपीआर सुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको बताए ।

कुल २६ करोड ८६ लाख ९८ हजार ८ सय २० रुपैयाँ खर्चमा परामर्शदाताले २०७८ वैशाखसम्ममा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ । परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४ सय (आइतबारको विनिमय दरअनुसार १४ करोड ७७ लाख १८ हजार १ सय ६८ रुपैयाँ) अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड ९ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेका थिए ।

विभागले २०७६ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनः डीपीआर तयार गर्न विश्वव्यापी आशय माग गरेको थियो । मेची–महाकाली रेलमार्गअन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर सडकखण्डको डीपीआर निर्माण गर्न १३ परामर्शदाताले आवेदन हालेका थिए ।

विभागको मूल्याङ्कन समितिले कार्यक्षमताका आधारमा छ परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो । गत वर्षको पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो । यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते  खोलिएको थियो । परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको नौ महिनापछि डीपीआरका लागि सम्झौता भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहे पनि कुनै पनि आयोजनाका लागि ठेक्का लगाउन र सम्झौता गर्न मन्त्रालयको सहमति आवश्यकता नपर्ने विभागले जनाएको छ ।

विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–हेटौंडा–भरतपुर सडकखण्ड रेलमार्ग निर्माणको डीपीआरका लागि योग्य देखिएको हो । उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

डीपीआर तयार गर्न विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४ सय अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड ९ लाख ८० हजार ६ सय ५२ प्रस्ताव गरेको थियो । निजगढ–हेटौंडा–भरतपुर सडकखण्डको रेलमार्ग डीपीआर अगाडि बढाइने विभागले जनाएको छ ।

यस्तै सियुआन–इआरएमसी जेभीले प्राविधिक क्षमताका आधारमा ८९.२ प्रतिशत अङ्क प्राप्त गरेको थियो । उसले डीपीआर निर्माणका लागि विदेशी साझेदारका लागि १२ लाख २१ हजार २ सय ५० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड ४ लाख २८ हजार ३ सय रुपैयाँ प्रस्ताव गरेको थियो ।

यसैगरी, आइसिटी–युकसेल जेभीले प्राविधिक क्षमताका आधारमा ८६.४९ प्रतिशत अङ्क प्राप्त गरेको थियो । उसले विदेशी साझेदारका लागि २८ लाख ८५ हजार ६० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड ८ लाख ५ हजार १ सय १० रुपैयँ प्रस्ताव गरेको थियो । राइट्स–बीडीए जेभीले प्राविधिक क्षमताका आधारमा ८४.३३ प्रतिशत अङ्क प्राप्त गरेको थियो । उसले विदेशी साझेदारका लागि ११ लाख १४ हजार ८ सय अमेरिकी डलर र नेपाली साझेदारका लागि १४ करोड ३३ लाख ९९ हजार ७ सय रुपैयाँ प्रस्ताव गरेको विभागले जनाएको छ । रासस