पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन

होमल्याण्ड खबर

२०७६ पुष २२ गते, मंगलवार १३:३४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्‍यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको बताएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस (र्‍याली) निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि मन्त्री भट्टराईले आरोप लगाएका छन् ।

यसअघि स्थानीय प्रशासनसँग अनुमति नै नलिइ र्‍याली आयोजना गरिएपछि सिड्नी प्रहरीले रोक लगाएको खबर सार्वजनिक भएको थियो ।

पछि, त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले स्थानीय प्रशासन र न्यू साउथ वेल्स स्टेटका गर्भनरसँग समन्वय गरेर र्‍यालीसहितको कार्यक्रमलाई अगाडि बढाइएको जनाइएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय रुपमा नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ भएको पनि बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका सभामुखसहित अस्ट्रेलियाका सत्तापक्ष र प्रतिपक्षी दलका नेताको सहभागिता थियो ।

 

Yogesh Bhattarai
अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !