१० मंसिर २०८१, सोमबार
सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न थालिएको हो ।
हाल काठमाडौंमा अनलाइन बुकिङ सिस्टममा चलिरहेका सीमित ट्याक्सीहरुले यात्रु ठग्ने समस्या छैन । तर, अधिकांश ट्याक्सीले आफूखुसी भाडा लिने गरेका छन् । यातायात व्यवस्था विभागका अनुसार अब ट्याक्सी व्यवसायीलाई पनि अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने जनाएको छ । यात्रुलाई सरल तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको हो ।
साथै पहेँलो रंगमा ‘ट्याक्सी’ लेख्न अनिवार्य गरिनेछ । फरक(फरक रंगमा लेखिँदा यात्रु झुक्किने समस्या छ । मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने विभागले जानकारी दिएको छ । धेरै ट्याक्सीले मिटरमा जान मान्दैनन् । पोशाक तोक्ने र मिटर बिलिङलाई अनिवार्य गर्दै अनलाइन बुकिङ सिस्टम लागू गर्ने विभागले जनाएको छ ।
अहिले ट्याक्सी व्यवसायीहरुको पनि फरक(फरक संघ छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।यसबारे छलफल गर्न ट्याक्सी ब्यावसायीहरुलाई बिहीबार विभागमा बोलाइएको छ ।