२४ जेष्ठ २०८३, आईतवार
सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ ।
सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ । विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए । आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेका उनले केबलकारका पोलहरू राख्ने र माथिल्लो स्टेसन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् ।


यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो । यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, तीन सय १७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको छ । पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथमा पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली ०५१ मा गृहमन्त्री हुँदा बरुवाल पिए थिए ।
यती समूहले लगानी गर्ने केबलकारमा बरुवाललाई पनि सञ्चालक बनाइएको छ । पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए ।
पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने शेर्पाको इच्छा थियो । तर, दुर्भाग्यवश हेलिकोप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भयो ।