गोरखामा ट्रिपरले किचेर महिलाको मृत्यू, २६ वटा ट्रिपर र एक्साभेटर आगजनी र तोडफोड

होमल्याण्ड खबर

२०७६ माघ १७ गते, शुक्रबार ०९:५५ मा प्रकाशित

गोरखामा ट्रिपरले किचेर एक महिलाको मृत्यू भएको छ । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नंबरको ट्रिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ बर्षकी मनमाया तामाङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घरबाट छेपेटार बजारमा दूध बेच्न हिडेकी तामाङलाई शुक्रबार बिहान पौने सातबजे क्रसरबाट निस्केको ट्रिपरले किचेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

महिलाको मृत्यू भएपछि आक्रोशित पाँचसय भन्दा धेरैजनाको भिडले सो ट्रिपरलाई आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा ट्रिपर र छ वटा एक्साभेटर तोडफोड गरेका प्रहरीले जनाएको छ ।

क्रसरभित्र पाँच दर्जन भन्दा धेरै प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास गरिएको प्रहरीको भनाइ छ ।