गृहसचिव राईले दिए राजीनामा

होमल्याण्ड खबर

२०७६ माघ १७ गते, शुक्रबार १३:१७ मा प्रकाशित

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव राईले आज राजीनामा दिएका हुन् ।

माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा पेश गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

२०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेका छन् । २०४९ अगाडि नै निजामति सेवा प्रवेश गरेका राईले तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ अनुसार निवृत्तिभरण पाउने छन् ।

गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद सचिवको रुपमा बाहिरिन लागेका हुन् । मन्त्रालय स्रोतका अनुसार राजीनामा दिएका सचिव राईको आइतबार बिदाइ गरिने कार्यक्रम छ ।

गृहसचिव राईसँगै ५ वर्षे सेवा अवधि पूरा गरेर अर्थ मन्त्रालयका सचिव राजन खनाल, नेपाल ट्रस्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर र उपराष्ट्रपतिको कार्यालयका सचिव रामकुमार आचार्यले पनि माघ २२ गते अवकास पाउँदैछन् ।