पीएसजीद्वारा मोन्टपिलर ५–० ले पराजित

होमल्याण्ड खबर

२०७६ माघ १९ गते, आईतवार ११:३५ मा प्रकाशित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपिलरलाई फ्रेन्च लिग वान फुटबलमा फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा सिमित मोन्टपिलरलाई ५–० ले पराजित गरेको हो ।

पीएसजीका लागि पाब्लो साराबिया, एन्जल डी मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले एक एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ४१ औं मिनेटमा मारियाले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ४४ औं मिनेटमा ड्यानिएल कन्ग्रेले आत्मघाती गोल गरेपछि पीएसजीले ३–० को अग्रता बनायो । ५७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो अग्रता दिलाए ।

६५ औं मिनेटमा कुर्जावाले गोल गर्दै पीएसजीलाई ५–० ले अघि बढाए ।

१७ औं मिनेटमा मोन्टपिलर १० खेलाडीमा समेटियो । दिमित्री बर्टाउडले एमबाप्पेमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । यसैगरी, ८८ औं मिनेटमा मोन्टपिलर ९ खेलाडीमा समेटियो । जोरिस चोटार्ड दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मोन्टपिलर ९ खेलाडीमा समेटिएको थियो ।

जितसँगै पीएसजीले २२ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । पीएसजी दोस्रो स्थानको मार्सेली भन्दा १३ अंकले अघि रहेको छ । एक खेल कम खेलेको मार्सेलीको ४२ अंक छ । पराजित मोन्टपिलर ३३ अंक जोडेर पाँचौ स्थानमा छ ।