६ चैत्र २०८२, शुक्रबार
रामधुनी नगरपालिका–२ कृषिफर्ममा आज बिहान बस र हाइस माइक्रो बस आपसमा ठोक्किँदा माइक्रो बसका चालक सहित ४ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा बस र माइक्रोमा सवार १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माइक्रोका चालक धादिङको बैरेनी–३ का दिपक खड्का, हाईसमा सवार झापा भद्रपुर–५ की डोल कुमारी कोईराला, हाइसमै सवार हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


झापाबाट काठमाडौं आउदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७०५ नम्बरको बस एक आपसमा ठोक्किँदा माइक्रोका चालक खड्का, हाईसमा सवार डोल कुमारीको घटनस्थलमै मृत्यु भएको हो भने हाइसमै सवार डोल कुमारीका श्रीमान हेमराज र गरिमाको उपचारको क्रममा क्रममा जिल्ला अस्पताल र वि.पि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
घाइतेहरु मध्ये माइक्रोमा सवार एक जना र बसमा सवार ३ सहित ४ जनाको एपेक्स अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै घाइते भएका माइक्रोमा सवार ९ जनाको गोल्डेन अस्पताल विराटनगरमा र २ जनाको वि।पि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।