कोटेश्वर–जडीबुटी सडक खण्डकाे जाम अन्त्य गर्न विकल्पकाे खोजी

होमल्याण्ड खबर

२०७६ माघ २० गते, सोमबार १०:४१ मा प्रकाशित

कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । यस सडक खण्डको दायाँ-बायाँ दुबैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको हाे ।

जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको छ ।

मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै त्यस खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको छ ।

सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुई तीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ ।

दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उनले भने, ‘मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुई तीन लेन थप्न सकिनेछ ।’

उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उक्त घर तीनकुने– सूर्यविनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ ।