गौतमबुद्ध विमानस्थल आयोजना तीन महिना थप

होमल्याण्ड खबर

२०७६ माघ २० गते, सोमबार ११:३३ मा प्रकाशित

बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण काम पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ ।

विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो ।

ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ । ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताए ।

उनले भने, ‘मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ ।’ सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसैअनुरूप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो ।

विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो ।

सुरुमा कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रूपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ ।

निर्धारित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ ।