१० मंसिर २०८१, सोमबार
आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस । आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ ।
‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।
सन् २०१८ को तथ्यांकअनुसार विश्वभर क्यान्सरका कारण ९ करोड ६ लाख मानिसको मृत्यु भएको छ भने झण्डै एक करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
संगठनका अनुसार पाँच जनामध्ये एक पुरुष र ६ जनामध्ये एक महिलामा क्यान्सर हुने गरेको छ भने आठ जनामध्ये एक पुरुष र ११ जनामध्ये एक महिलाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।
पछिल्लो समय नेपालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा भने झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । नेपालमा ८१ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका सरकारी तथ्यांक छ ।
नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।
सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका बिरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामी धेरै भएको बताइन्छ ।
खानपानमा ध्यान दिन सके पनि ४० प्रतिशतले क्यान्सर रोगको जोखिम कम हुने डब्लूएचओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । विकसित राष्ट्रहरुमा भन्दा पनि विकासोन्मुख राष्ट्रहरुमा हरेक वर्ष क्यान्सरका बिरामी थपिंदै गएका डब्लूएचओले जनाएको छ ।