चिनियाँ एयरलाइन्स कम्पनीले नेपाल उडान धमाधम बन्द गर्दै

होमल्याण्ड खबर

२०७६ माघ २१ गते, मंगलवार १२:०८ मा प्रकाशित

चीनमा फैलिएको कोरोना भाइरसका कारण हवाइ यात्रुको संख्यामा निकै कमी आएपछि नेपाल उडान गर्दै आएका केही चिनियाँ कम्पनीहरुले उडान बन्द गरेका छन् भने केहीले उडान घटाएका छन् ।

तिब्बत एयरलाइन्सले सातामा ७ उडान गर्दै आएकोमा सबै उडान रद्द गरिसकेको छ भने सिचुवान एयरलाइन्सले भोलिदेखि उडान बन्द गर्दैछ ।  यस्तै चाइना साउदर्न एयरलाइन्सले सातामा १४ वटा उडान गर्दै आएकोमा ७ वटामा झारेको त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले जानकारी दिएको छ ।

एयर चाइनाले सातामा ४ वटा उडान गर्दै आएकोमा फेब्रुअरी १० देखि २ वटा मात्र उडान गर्ने जानकारी कार्यालयलाई दिएको छ ।  चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको छ ।

चीनबाट आउने यात्रुको संख्यामा कमी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।

यसअघि नेपालको निजी हवाइ सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले पनि आफ्नो चीनतर्फको उडान घटाइसकेको छ भने फेब्रुअरी ६ मा बेइजिङ र ७ फेबु्रअरीमा चोङचिङ अन्तिम उडान गर्ने जनाइसकेको छ ।