सिन्धुली आश्रमबाट बम्जन फरार

होमल्याण्ड खबर

२०७६ माघ २४ गते, शुक्रबार १३:३५ मा प्रकाशित

हत्या, हिंसा र बलात्कार जस्ता आराेप रहेका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट भागेका छन् । तपस्वीको भेषमा बस्दै आएका  बम्जन सिन्धुली आश्रमबाट भागेको प्रहरीले बताएको छ । बम्जनलाई पक्रन जिल्ला प्रहरी सर्लाहीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार अनुमति लिएर शुक्रबार बिहान बम्जनको सिन्धुली आश्रममा पुगेको थियो ।

बिहिबार साँझसम्म आश्रममा नै रहेको स्थानीयको सुचनाको आधारमा पक्रन शुक्रबार बिहानै प्रहरी पुग्दा बम्जन आश्रममा नरहेको जिल्ला प्रहरी सर्लाहीले जानकारी दिएको छ । भागेका बम्जनको खोजि कार्य तिब्र पारिएकाे छ । बम्जनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजिरहेको छ ।

बम्जन सँगै उनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि फरार भएका छन् । बम्जनलाई एक अनुयायीको हत्या गरेको, तीन आनीलाई बेपत्ता पारेको र एक आनीलाई बलात्कार गरेको आरोप छ । बम्जनका आश्रमबाट सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता भएका छन् ।

बम्जनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप समेत रहेको छ ।