१० मंसिर २०८१, सोमबार
सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा माथि उक्लिएको हो ।
मनाङका लागि अन्जन बिष्टले दुई गोल गरे भने विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा रानाको गोलमा अग्रता बनाएको मनाङका लागि ४३ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै पहिलो हाफमा मनाङले २–० गोल अन्तरको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा एनआरटीमाथि हावी भएको मनाङका लागि खेलको ६५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।
३–० ले पछि परेको एनआरटीका लागि सकल रेग्मीले खेलको ८५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा पुर्याएका थिए । ३–१ गोलमा रहेको खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले गोल गर्दै टिमलाई ४–१ गोलको जीत दिलाएका थिए ।
जीतसँगै मनाङले लिगमा ६ जीतसहित २२ अंक जोडेको छ भने एनआरटी १५ अंकसहित आठौं स्थानमा यथावत रहेको छ ।
लिगको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लबको २६ अंक छ भने दोस्रो स्थानको मछिन्द्र क्लबको २५ अंक रहेको छ ।