सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम गर्दैन : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार १५:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका छन् । निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने  बताएका हुन् ।

प्रधानमन्त्री ओलीले उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्न आग्रह गर्दै सरकार सदैव सहयोग गर्न तयार रहेकाे बताए ।

सत्ताका स्वार्थका लागि मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने उनले बताए । ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनौ । हामी लोकतान्त्रिक व्यवस्थामा छौं’ उनले भने, ‘तर सुशासन र लोकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’

राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए । नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला’ प्रधानमन्त्री ओलीले भने ।