९ मंसिर २०८१, आईतवार
आज १४ फेब्रुअरी ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस (प्रेम दिवस) । विश्वका युवा युवतीले आजको दिनलाई विशेष चाडका रुपमा मनाउने थालेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।
विशेष गरी ‘भ्यालेन्टाइन डे’ को औपचारिक सुरुआत सन् २६९ बाट रोमनबाट सुरु भएको हो । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।
प्रणय दिवसको अवसरमा प्रेमि प्रमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने प्रचलन पनि छन् ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ ।
दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम हुँदैछन् ।
यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर, सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।