चीनबाट नेपालीलाई उद्धार गरी ल्याएको जहाज आज राति दोहा उड्दै

होमल्याण्ड खबर

२०७६ फाल्गुन ६ गते, मंगलवार १६:३१ मा प्रकाशित

चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमान क्यारेन्टाइन अवधि पूरा गरेपछि आज राति कतारको राजधानी दोहाको लागि उड्ने भएको छ ।

नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने क्रममा आज राति साढे १० बजे कतारको राजधानी दोहाको लागि उड्ने भएको हो ।

चीनको वुहानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानलाई ४८ घण्टासम्म उडान गर्न रोक लगाइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ ।

उक्त विमानलाई विमानस्थलको रिमोट पार्किङमा राखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ(को मापदण्ड अनुसार विमानलाई ४८ घण्टासम्म क्वारेन्टाइनमा राखिएको थियो ।

कोराना भाइरसबाट अति प्रभावित चीनको वुहान क्षेत्रमा रहेका नेपालीलाई ल्याउन उक्त विमान शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वुहानका लागि उडेको थियो ।