दिल्लीमा हिंसाः मृत्यु हुनेको संख्या सात पुग्यो

होमल्याण्ड खबर

२०७६ फाल्गुन १३ गते, मंगलवार १३:१८ मा प्रकाशित

भारतमा नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य ३५ जना घाइते भएका छन् ।

मंगलबार बिहान उपचार गराइरहेका तीन जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या सात पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एक जना प्रहरी र तीन जना सर्वसाधारणको मृत्यु भएको थियो ।

विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा एक जना प्रहरीसहित ६ जनाको मृत्यु भएको हो ।

झडपले हिंसाको रुप लिएपछि दिल्ली मेट्रोले सुरक्षाको कारण देखाउँदै जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ ।

उत्तर–पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरुमा आइतबारदेखि हिंसा सुरु भएको थियो ।