डा.ज्ञवालीकाे टिमले प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्याराेपण गर्ने, आज अस्पताल भर्ना हुँदै

होमल्याण्ड खबर

२०७६ फाल्गुन १९ गते, सोमबार ०९:३१ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली आज अस्पताल भर्ना हुँदैछन् ।

ओलीकाे दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुन लागेकाे छ । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको यसअघि ०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शिक्षण अस्पतालले जनाएअनुसार प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्याराेपणका लागि शिक्षण अस्पतालका युराेलाेजी तथा मिर्गाैला प्रत्याराेपण शल्यक्रिया विभागका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वकाे टाेलीले शल्यक्रिया गर्नेछ ।

प्रत्याराेपण तयारीकै लागि दुई दिनअघि भर्ना गर्नुपर्ने चिकित्सककाे भनाइ छ । प्रधानमन्त्री ओलीकाे प्रत्याराेपण सामान्य रुपमा भए करीब पाँच दिन लाग्ने अस्पतालले जनाएकाे छ ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि आजै मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ ।