गोरखामा जीप पल्टियोः एकको मृत्यु, ७ घाइते

होमल्याण्ड खबर

२०७६ फाल्गुन २२ गते, बिहीबार ०९:३६ मा प्रकाशित

आरुघाट गाउँपालिका–१ धोर्चेमा बुधबारराति जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ७ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जीपमा सवार धार्चे गाउँपालिका–६ का वडासचिव लम्जुङका किरण रिमाल रहेको प्रहरीले जनाएको छ ।

आरुघाट मान्बुबाट काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जीप उकालोमा चढ्न नसकेर ब्याक भई सडकबाट करिब २ सय मीटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जिपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारको लागि धुन्चेतमा रहेको फेस नेपाल सामुदायिक स्वास्थ्य क्लिनिक पठाइएको प्रहरीले जनाएको छ ।