कोरोना भाइरसकाे सङ्क्रमण देखिएका ८ देशका नागरिकलाई नेपाल प्रवेशमा राेक

होमल्याण्ड खबर

२०७६ फाल्गुन २७ गते, मंगलवार १२:२० मा प्रकाशित

अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मङ्गलवारदेखि नेपाल प्रवेश गर्न अन-अराइभल भिसा बन्द गरिने जनाएको छ ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई ‘अन-अराइभल’ भिसा बन्द गरिएको अध्यागमन विभागले जनाएको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन-अराइभल भिसा नदिइने प्रावधान लागु गर्न लागिएको छ ।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ ।