यी हुन् सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएका पाँच मुलुक

होमल्याण्ड खबर

२०७६ चैत्र ३ गते, सोमबार १२:०० मा प्रकाशित

कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या हालसम्म ६ हजार ५ सय १५ पुगेको छ ।

सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।

चीनपछि इटालीमा संक्रमण बढी देखिएको छ । चीनमा भाइरसको संक्रमण घट्दो क्रममा देखिए पनि इटालीमा भने दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन्। हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको छ ।

इटालीपछि अर्को संक्रमित मुलुको सूचीमा इरान देखिएको छ । इरानमा हालसम्म १३ हजार ९ सय ३८ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा इरानमा १ सय १३ जनाले ज्यान गुमाएसँग त्यहाँ ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ ।

इरानपछि संक्रमित हुने मुलुकको सूचीमा दक्षिण कोरिया रहेको छ । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७५ भए पनि संक्रमितको संख्या ८ हजार २ सय ३६ रहेको छ । जहाँ १ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने ७ हजार २४ जना उपचाररत छन् ।

दक्षिण कोरियापछि कोरोना भाइरसबाट संक्रमित हुने मुलुकको सूचीमा स्पेन रहेको छ । स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।