बहराइनमा तीन जना नेपालीलाई कोरोना भाइरस भएको पुष्टि

होमल्याण्ड खबर

२०७६ चैत्र ९ गते, आईतवार १५:५० मा प्रकाशित

बहराइनमा तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले शनिबार गरिएको परीक्षणका क्रममा तीन जना नेपालीमा कोरोना भाइरस भएको पुष्टि भएको जानकारी दिए ।

संक्रमितलाई अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । उनीहरुको परिचय गोप्य राखिएको छ । यस्तै तीन जना नेपालीलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा राखिएकामा दुई पुरुष र एकजना महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि सो घरका सबै जनालाई एक सातादेखि क्वारेन्टाइनमा राखिएको हो ।

बहराइन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाइ कोरोना संक्रमितको उपचार गरिरहेको छ । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखेर उपचार गरिरहेको छ । बहराइनमा बैदेशिस रोजगारीका क्रममा करिब ३५ हजार नेपाली रहेका छन् ।

बहराइनमा हालसम्म ३१० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये १ सय २५ जना निको भइसकेका छन् । एक जनाको मृत्यु भएको छ ।