१० मंसिर २०८१, सोमबार
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसको विश्वव्यापी महामारी थप बिस्तार हुने चेतावनी दिएको छ । विश्वभर अहिलेसम्म तीन लाख ७८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ ।
चीनको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको ६७ दिनपछि संक्रमितको संख्या एक लाख पुगेको थियो ।
तर त्यसको ११ दिनपछि थप एक लाख जनामा संक्रमण पुष्टि भयो । त्यसको मात्रै चार दिनपछि संक्रमितको संख्या तीन लाख भन्दा बढी पुगेको हो ।
तर डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हनोम गेब्रियसुसले अझै पनि संक्रमणको गति कम हुन सक्ने सम्भावना भने रहेको बताएका छन् । या कोरोना भाइरसको संक्रमण मार्ग फेरिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
उनले विश्वभरका सरकारहरुलाई परीक्षणलाई सघन बनाउन तथा संक्रमित भएकाहरुलाई पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जियानी इफान्टिनोसँगको पत्रकार सम्मेलनमा डब्लुएचओ महानिर्देशक टेड्रोसले भने, ‘हामीले के गर्छौँ भन्ने कुराले महत्व राख्छ । हामीले कुनै पनि फुटबल खेल डिफेन्स मात्रै गरेर जितिँदैन, जित्नका लागि अट्याक पनि गर्नु पर्छ ।’
महानिर्देशक टेड्रोस र फिफा अध्यक्ष इन्फान्टिनोले संयुक्त रुपमा फुटबलरहरुको संलग्नता रहेको ‘किक आउट कोरोना भाइरस’ अभियान सुरु गरेका छन् ।
डा. टेड्रोसले मानिसहरुलाई घरमै बस्न तथा शारीरिक–दूरी कायम गर्न आग्रह गरेका छन् । यसले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उनको भनाई छ ।
उनले भनेका छन्, ‘जित्नका लागि हामीले भाइरसविरुद्धको आक्रमण थप आक्रामक र निर्देशित रणनीतिक बनाउनु पर्छ । आशंका गरिएका हरेकको परीक्षण, आइसोलेसन तथा संक्रमितको स्याहार र सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिनु पर्छ ।’
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १६ हजार पाँच सयजना भन्दा बढीको मृत्यु भएको छ ।