कोरोना सङ्क्रमणको आशङ्कमा गरिका १७ जनाको आइसोलेसनमा उपचार हुँदै

होमल्याण्ड खबर

२०७६ चैत्र १४ गते, शुक्रबार १०:५१ मा प्रकाशित

कोरोना सङ्क्रमणको आशङ्कमा काठमाडाैंको दुई वटा र ललितपुरको एउटा अस्पतालमा १७ जनाको उपचार भइरहेको छ ।

काठमाडाैको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा चार/चार जना गरी १७ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ । कोराना पुष्टि भएका दुई जनाको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभरका अरु अस्पतालमा रुघाखोकी र ज्वरो आएका बिरामी पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरूमध्ये १० जनालाई कोरोनाको आशङ्का गरिएको र नमूना परीक्षणको लागि टेकुमा रहेको प्रयोगशालामा पठाइएको मन्त्रालयले जनाएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ ।

अहिलेसम्म नेपालमा कोरोना परीक्षण गरिएका सात सय ५८ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । एक जना निको भइसकेका छन् भने अरु दुई जनाको उपचार भइरहेको छ ।