लक्षण विनानै एकै परिवारका चार जनामा देखियो कोरोना भाइरस पोजेटिभ

होमल्याण्ड खबर

२०७६ चैत्र २१ गते, शुक्रबार ०६:१९ मा प्रकाशित

एजेन्सी । कुनैपनि लक्षणविना दार्जिलिङका एकै परिवारका ४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

दार्जिलिङको कालेबुङस्थित एक महिलाको गत सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा चारै जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको बताइएको छ ।

परीक्षण गरिएका चारै जनामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुमा गरिएको परीक्षण रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ ।

हाल उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

नेपालमा पनि फ्रान्स बाट कतार हुँदै फर्किएकी १९ वर्षे युवतीमा पनि काराेनाभाइरस पाेजेटिभ देिखए पनि लक्षण भने देखिसकेकाे थिएन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ५८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन २३ जनाले ज्यान गुमाएका छन् । यो संगै भारतमा मात्रै ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ भने १ हजार ९ सय ९८ जना संक्रमित बनेका छन् ।

चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। बिहिवार विहानसम्म विश्वभर ४७ हजार २ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् ।

त्यस्तै, ९ लाख ३५ हजार ९ सय ६० जना यसबाट संक्रमित बनेका छन् भने १ लाख ९४ हजार ५ सय ७६ जना सन्चो भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४ढ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।