११ जेष्ठ २०८३, सोमबार
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने चारवटा सिमेन्ट उद्योगसहित छ वटा उद्योगलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा प्राप्त नमूना नेपाल गुणस्तरअनुरुप नपाईएपछि कानूनी कारबाही अगाडि बढाइएको विभागले जनाएको छ ।
विभागले बाराको रिलायन्स सुपरटेक सिमेन्ट, पर्साको इन्टरनेशनल सिमेन्टको क्रमशः पिएससी र ओपीसी सिमेन्ट गुणस्तरहीन रहेको भन्दै उद्योगको इजाजत पत्र नै रद्द गरेको छ । विभागले प्रगोगशाला परीक्षणमा नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम १६ अनुसार इजाजत रद्द गरेको जनाएको छ । रिलायन्स र इन्टरनेशनलले इजाजत स्थगन गरेको समयमा पनि सिमेन्ट बिक्री वितरण गरेको फेला पारेको हो ।


यसैगरी विभागले अग्नि सिमेन्ट उद्योग रुपन्देही र सर्वाेत्तम सिमेन्ट नवलपरासीसँग स्पष्टीकरण मागेको छ । अग्नि सिमेन्ट उद्योगको पीपीसी ब्रान्डको सिमेन्टको संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थको मापन नेपाल गुणस्तर भन्दा बाहिर रहेको भन्दै स्पष्टीकरण सोधको विभागमा उप–महानिर्देशक दिनानाथ मिश्रले जनकारी दिनुभयो । अग्निकै ओपिसि ब्रान्डका उत्पादनमा पनि आइआर मापन नेपाल गुणस्तरभन्दा बढी रहेको भन्दै स्पष्टीकरण साधेको छ । विभागले सर्वोत्तम सिमेन्ट नवलपरासीको ओपिसी सिमेन्टमा पनि आइआरको मापन नेपाल गुणस्तरभन्दा बढी रहेको भन्दै स्पष्टीकरण सोधेको हो ।
विभागले एभरेष्ट ग्यास उद्योग चाल्नाखेल, काठमाडौंको सिलिण्डर नेपाल गुणस्तरअनुरुप नभएको भन्दै प्रमाण पत्र स्थगन गरेको छ । यस्तै कमला रोलिङ मिल्सको गुणस्तरका कैफियत भेटेपछि स्पष्टिकरण मागेको छ ।