अब सिमकार्ड लिन नयाँ व्यवस्था, अरुको नामको सिम चलाउन नपाइने

होमल्याण्ड खबर

२०७७ असार २२ गते, सोमबार १०:०० मा प्रकाशित

सरकारले अब एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गरेको छ । दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

पछिल्लो समय डिजिटल बैंकिङको कारोबार मोबाइलबाट हुन थालेपछि बढी सिमकार्ड लिने गरेका छन् ।  आफ्ना नाममा सिमकार्ड लिएर अरुलाई दिँदा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न एक व्यक्तिले एक सेवा प्रदायकबाट दुई वटाभन्दा भन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नाबालिकका लागि भने अविभावकको नाता प्रमाणित र अन्य आवश्यक कागजात उपलब्ध गराएको खण्डमा एउटा मात्रै सिमकार्ड लिन पाइने छ ।

पछिल्लो समय सिमकार्ड आर्थिक कारोबारसँग पनि जोडिएको छ । सिमकार्डबाटै बैंकिङ तथा मोबाइल बैंकिङ लगायतका कारोबार हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए ।‘हाम्रो उद्देश्य भनेको कार्डको दुरुपयोग नहोस् भन्ने हो,’ उनले भने ‘एउटै व्यक्तिको नाममा धेरै कार्ड हुँदा अपराध सम्बन्धी विभिन्न गतिविधिमा प्रयोग हुन सक्छ भन्ने हो अर्थात मिसयूज नहोस् भन्नका लागि यो व्यवस्था गरिएको हो ।’

प्राधिकरणको गत साता बसेको सञ्चालक समितिको बैठकले यस्तो एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा सिमकार्ड लिन नपाउने व्यवस्था गरेको हो । सो निर्णयलाई कार्यान्वयनमा ल्याउन आज आइतबार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पत्र काटेर यसबारे जानकारी गराएको छ ।

प्राधिकरणले गरेको यो व्यवस्था कार्यान्वयनमा आएसँगै दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिले सिमकार्ड छोड्नु पर्ने हुन्छ । यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । हाल एउटै व्यक्तिले एउटा सेवा प्रदायकको धेरै सिमकार्ड लिने गरेका छन् ।

अर्यालका अनुसार नेपाल टेलिकमको हकमा एक जनाले अधिकतम दुई वटा सिमकार्ड र एउटा ल्याण्डलाइन लिन सक्नेछन् भने अन्य सेवा प्रदायकको हकमा एउटा व्यक्तिको नाममा दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने प्रावधान राखिएको छ ।

यो प्रावधान पुराना सिमकार्ड लिनको हकमा समेत लागु हुने उल्लेख गरिएको छ । पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यो व्यवस्था अनुसार अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिने भएको छ । बढी सिमकार्ड बिक्री गरेमा सेवा प्रदायक कम्पनीहरू सजायको भागिदार हुनेछन् ।