११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्राबिसेस्थित जम्बूको बाढीपहिरोबाट प्रभावित क्षेत्र निरीक्षण गर्नुभएको छ । बुधवार मात्रै आँखाको शल्यक्रिया गर्नुभएका सभामुख सापकोटा आँखाको पट्टी नखुल्दै प्रभावित क्षेत्रको निरीक्षणमा पुग्नुभएको हो ।
प्रभावित क्षेत्र सभामुख सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित क्षेत्रभित्र पर्छ । त्यसैगरी वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुग्नुभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।


यसअघि बिहीवार बिहान सभामुख अग्निप्रसाद सापकोटालाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण फर्किएको थियो । घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिनुभएको छ ।