९ मंसिर २०८१, आईतवार
काठमाडौं । २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएको राजधानीको वसन्तपुरस्थित काष्ठमण्डपको पुन:निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । ढिलो निर्माण कार्य गरी सुरु गरिए पनि पछिल्लो समय काष्ठमण्डप निर्माण कार्यले गति लिएको छ । काष्ठमण्डप पुन:निर्माणमा हालसम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुन:निर्माण समितिले जनाएको छ ।
काठमाडौं महानगरपालिका मार्फत उपभोक्ता समितिले भूकम्पबाट क्षतिग्रस्त भएको काष्ठमण्डपको पुन:निर्माणको काम गरिरहेको छ । पुन:निर्माणको काम विवादमा पर्दा तीन वर्षसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन् । तर काठमाडौं महानगरपालिकाले १५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पूँजी, प्रविधि र श्रमलाई प्रयोग गरी ३ वर्षभित्र बनाउने गरी २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेस गरेपछि भने पुन:निर्माणको कामले गति लिएको थियो ।
काष्ठमण्डप पुन:निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यले पुन:निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । काष्ठमण्डपको पहिलो तलाको काम सम्पन्न भई दोस्रो तलाको काम भइराखेकाले ६० प्रतिशत काम सम्पन्न भएको उहाँको अनुमान छ । यस्तै पुरातत्व विभागले ‘स्टिमेट’ गरेको १९ करोड ८८ लाख रुपैयाँ लागत भित्रै रहेर पुन:निर्माणको काम सम्पन्न हुने पनि शाक्यले बताउनुभयो । अहिलेसम्म काठमाडौं महानगरपालिकाको झण्डै १० करोड ५० लाख रुपैयाँ अनुदानबाट पाएको र करिब ७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी उहाँले दिनुभयो ।
महानगरपालिकाको नीति तथा कार्यक्रममा ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेकाले लकडाउनको अवधिमा पनि निर्माण कार्यलाई नरोकिएको शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, ‘बसन्तपुर दरबार क्षेत्रभित्र रहेका अन्य सम्पदाको काम पनि व्यवस्थित रुपमा भइराखेको र सबै सम्पदाको पुननिर्माण १५ सय वर्ष अघिको प्रविधिमा रहेर भूकम्प प्रतिरोधि बनाउने प्रयास गरिएको छ ।’
काष्ठमडण्प पुन:निर्माणका लागि चाहिने थाम, ढुंगा सबै व्यवस्थापन गरी तयार भइसकेको पनि शाक्यले जानकारी दिनुभयो । पहिलो तलामा ९६ वटा थामको प्रयोग गरिएको छ । उपभोक्ता समितिले नै पुन:निर्माणको काम गरिरहेकाले स्थानीयबाट कुनै अवरोध नभएको पनि उहाँले बताउनुभयो । अहिलेकै गतिमा काम भए तोकिएको समय अवधिभित्रै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।