११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । तीन अस्पतालले कोरोना परीक्षणमा मनपरि शुल्क लिएको भन्दै गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्य छानबिन समिति गठन गरेको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल र ग्रान्डी अस्पतालले मन्त्रालयको निर्देशिका विपरीत स्वाब संकलन गरेर मनपरि शुल्क लिएको गुनासो आएको थियो ।
उक्त गुनासो आएपछि मन्त्रालयको गुणस्तरमापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जसमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले रहेका छन् ।


मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को मोेलिक्युलर परीक्षण (पीसीआर) परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ मा निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमुनालाई मात्र परीक्षण गर्नुपर्ने र शुल्क पनि ५ हजार ५ सय मात्र लिन पाउँने उल्लेख छ ।
आइतबार मात्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सानेपास्थित स्टार अस्पताल आफैं नमुना संकलन गरेर परीक्षण गर्ने अनुमति मन्त्रालयले दिएको थियो । यसअघि सरकारी तीन अस्पताल वीर, पाटन र त्रिवि शिक्षण अस्पताललाई अनुमति दिइएको थियो । सरकारी निर्देशनअनुसार ती अस्पतालले विदेश जान निरोगिता प्रमाणपत्र चाहिएमा ५ हजार ५ सय शुल्क लिएर कोरोना परीक्षण गर्दै आएका थिए ।